Our Programs / New Waves Asia

समुदायको सीप, समुदायको हित

"समुदायको सीप, समुदायको हित" ले स्थानीय समुदायका मानिसहरुलाई वनस्पतिजन्य खाद्य उत्पादनका लागि आवश्यक व्यवहारिक सीपहरु प्रदान गरी प्रत्यक्ष तालिम, बजारसँगको संलग्नता र मार्गदर्शनमार्फत दिगो व्यवसाय सुरु गरी जीविकोपार्जन गर्न सहायता प्रदान गर्दछ। यस कार्यक्रमले समुदायको आर्थिक आत्मनिर्भरता र नेतृत्वलाई सुदृढ गर्नुका साथै पशुजन्य उत्पादनहरुको खपत कम गरी सामुदायिक पोषणमा सुधार ल्याउन मद्दत पुर्‍याउँदछ। साथै, यसले वातावरणीय दिगोपना र नैतिक खाद्य अभ्यासहरुलाई प्रवर्द्धन गर्दै वनस्पतिजन्य खाद्य पारिस्थितिकी प्रणाली (plant-based food ecosystem) को विकासमा पनि टेवा पुर्‍याउँदछ।

समुदायस्तरमा दिगो वनस्पतिजन्य पारिस्थितिकी प्रणालीको विकास गर्दै जीविकोपार्जनलाई सशक्त बनाउनुका साथै स्थानीय स्तरमा करुणामय खाद्य प्रणालीलाई प्रवर्द्धन गर्नु हाम्रो लक्ष्य हो।

सुराजन श्रेष्ठ एक पूर्ण शाकाहारी (भेगन)

पशु अभियान्ता हुन् जसले झण्डै १५ वर्षदेखि पशुहरुको हकहित तथा न्यायका लागि वकालत र समुदायमा आधारित अभियानहरु सञ्चालन गर्दै आइरहेका छन्। चितवन राष्ट्रिय निकुञ्ज नजिकै हुर्किएका कारण प्रकृतिसँगको उनको गहिरो सामिप्यताले पशु, वातावरण र वन्यजन्तुको संरक्षणप्रति उनको आजीवन प्रतिबद्धताको विकास गर्यो। लामो समयदेखि विभिन्न चाडपर्वहरुमा हुने पशु बलिजस्तो क्रूर अभ्यासको साक्षी बन्दै आएका उनले करिब १० वर्षकै कलिलो उमेरदेखि नै करुणामय जीवनशैलीलाई अंगालेका थिए। मानिसहरु र स्थानीय प्रणालीलाई सहायता पुर्‍याउँदै विशेषगरी व्यवहारिक र सांस्कृतिक रुपमा संवेदनशील समाधानहरुको सिर्जना मार्फत पशुहरुको जीवनस्तर सुधार गर्नको लागि कार्यहरु केन्द्रित रहेका छन्। समुदायहरुले उनीहरुको कुरा सुनुवाई भईरहेको छ, उनीहरुले साथ पाइरहेका छन्, र उनीहरुको सशक्तिकरण भईरहेको छ भन्ने कुराको आभाष गरे मात्रै अर्थपूर्ण परिवर्तन सम्भव छ भन्ने विश्वास र यथार्थपरक दृष्टिकोणका लागि उनी परिचित छन्।

हामीले यो किन गर्छौँ

स्वास्थ्य

- नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार नेपालका पाँच वर्षमुनिका करिब २५% बालबालिकाहरुमा पुड्कोपनको समस्या देखिएको छ। सामाजिक असमानताका कारण ग्रामीण, गरिब तथा सीमान्तकृत समुदायहरुमा दीर्घकालीन कुपोषणको समस्या एउटा जटिल विषयको रुपमा पनि रहेको छ।

- विश्व स्वास्थ्य संगठन र खाद्य तथा कृषि संगठन (WHO/FAO) का अनुसार वयस्क व्यक्तिहरुका लागि दैनिक आवश्यक प्रोटिनको मात्रा करिब ५०-६० ग्राम हुन्छ। तर, नेपालमा धेरैजसो खानपान चामल (भात) मा बढी निर्भर रहने र प्रोटिनयुक्त खाद्य वस्तुहरुको मात्रा सिमित हुने भएकाले प्रोटिनको कमी हुने जोखिम बढिरहेको छ।

- भटमासको दुध र तोफु (भटमासको पनिर) जस्ता खाद्य वस्तुहरु सस्तो, सजिलै बनाउन सकिने र उच्च गुणस्तरको प्रोटिनका श्रोतहरु हुन्।

वातावरण

- विश्वव्यापी "प्लानेटरी हेल्थ डाइट" (planetary health diet) को सिफारिससँग मेल खाने भटमासजस्तो गेडागुडीमा आधारित वनस्पतिजन्य आहारलाई व्यापक रुपमा अपनाउन सकेमा खाद्य प्रणालीसँग सम्बन्धित हरितगृह ग्याँस उत्सर्जनलाई ५०% सम्म घटाउनुका साथै दैनिक हजारौँको संख्यामा हुने अकाल मृत्युलाई रोकथाम गर्न सकिन्छ।

हामीले यो कसरी गर्छौँ

बजार मूल्याङ्कन

वास्तविक बजारले के खोज्छ भन्ने बारे आवश्यक जानकारी कार्यक्रमका सहभागीहरुले प्राप्त गरेको सुनिश्चित गर्नका निम्ति वनस्पतिजन्य खाद्य वस्तुहरुसँग सम्बन्धित माग, मूल्य निर्धारण, गुणस्तरको अपेक्षा र उपभोक्ता व्यवहार बुझ्न स्थानीय बजार सर्वेक्षण गरिने

सहभागीहरुको लागि तालिम

वनस्पतिजन्य खाद्य वस्तुहरुका बारेमा सचेतना जगाउन व्यवस्थित सत्रहरुका साथै पोषण, खाद्य सुरक्षा र आधारभूत व्यवसायिक ज्ञानलाई समावेश गर्दै भटमासको दुध तथा तोफु जस्ता उत्पादनहरुका लागि प्रयोगात्मक तालिम प्रदान गरिने

निरन्तर सहायता

निरन्तर अनुगमन, प्रतिक्रिया, र मार्गदर्शन प्रदान गरी सहभागीहरुको उत्साह कायम राखिनुका साथै सहभागीहरुद्वारा सञ्चालन गरिएका वनस्पतिजन्य वस्तुमा आधारित व्यवसायहरुको विकासलाई प्रवर्द्धन एवम् सहायता प्रदान गर्दै उपभोक्ताहरुको खानपान गर्ने बानीमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुर्‍याइने

बजार समन्वय

उत्पादकहरुलाई बजार प्रवेश गर्न र खरिदकर्ताहरुलाई उत्पादित वस्तुको प्रयोगमा प्रोत्साहित गर्नको निम्ति सम्भावित उत्पादकहरु (सहभागीहरु) र सम्भावित खरिदकर्ताहरुबीच सम्बन्ध स्थापना गर्न सहजीकरण गरिने

एउटा यस्तो उपाय छ जसबाट:

• पशुपंक्षीहरुलाई मद्दत गर्न,

• वातावरण संरक्षण गर्न,

• सुधारोन्मुख स्वास्थ्य तथा समग्र हितको प्रवर्द्धन गर्न,

• अन्यायविरुद्ध लड्न,

• आर्थिक सशक्तिकरण गर्न, र

• दिगो समुदाय निर्माण गर्न

सकिन्छ। यो सब, केवल एउटै कदमबाट।

यदि समुदायमा सकारात्मक परिवर्तन ल्याउन तपाईसँग त्यो ईच्छा र दृढ संकल्प छ भने हामी तपाईलाई सहयोग गर्न तयार छौँ। 'समुदायको सीप, समुदायको हित' कार्यक्रम मार्फत हामीले समुदायका व्यक्तिहरुमाझ वनस्पतिजन्य पारिस्थितिक प्रणालीलाई प्रवर्द्धन गर्दै दिगो र दीर्घकालीन प्रभाव सिर्जना गर्न आवश्यक सीप र ज्ञानले उनीहरुलाई सुसज्जित गर्दछौँ।

यस अभियानबारे थप बुझ्न तथा छलफल गर्न कृपया हामीलाई nepal@animalallianceasia.org मा सम्पर्क गर्नुहोला!